देउडा गीत' (प्रचलित: देउडा गीत) नेपालको सुदूर रे मध्य पश्चिम क्षेत्रमा गाइने प्रचलित लोक गायन शैली हो। येलाई देउडा भाका, देउडा गीद, लोक डेउडा आदि नाम दिएको पाइन्छ। यो गायन खासगरी बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट रे हुम्ला जिल्लाअनमी मुख्य रूपमी अपनाइएका पाइन्छन् ।[] यो पश्चिमेली भाषामी गाइन्छ । देउडा गीद पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्यप्रधान गीत हो । यस गीतमा गरिएको नृत्यलाई डेउडा खेल न्याउले खेल भणिन्छ । यो गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ। स्थानीय भाषिकाअनमी सृजित भई लोकप्रियता कमाएको देउडाले यस क्षेत्रभन्दा बाहिर पनि आफ्नो प्रभाव छोडेको छ। डेउडा खेल रे गायनको प्रक्रिया ये क्षेत्रमी खास अरिबर दशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह आदिमा प्रस्तुत गरिन्छ । देउडा गीतलाई एकल रूपमी लै गाउन सकिन्छ । नृत्यसित डेढ कदम चालिबर गोलो घेरा बनाई प्रस्तुत गरिन्या भएकाले ये गीदलाई डेउडा नामकरण गरिया मान्न सकिन्छ । संस्कृत भाषाको देउंदुराय शब्दबाट देउदुरा हुँदै देउडा शब्द बनेको हो भन्ने पनि छ ।[]देउडा गीत हो भने डेउडा खेल हो ।

काठमाडौँको टुडीखेलमी गौरापर्वको अवसरमी खेलेको देउडा खेल

** देउडाको बारेमा हेमन्त बिवसको लेख**

एकाबिहानै चिया पिउने क्रममा नजिकैको टेबुलमा चलिरहेको डेउडा गीतको रेकर्डिङ इतिहाससम्बन्धी बहस। त्यहाँ बहसमा सरिक जिद्धी मनका, बहुतै जानेजस्तो गर्नेदेखि गम्भीर स्वभावकाहरू पनि थिए। म पल्लो छेउमा बसेर नसुनेझैँ गरी चुपचाप सुनिरहेँ। जहाँ केही लेखकका लेखका, केही सामाजिक सञ्जालमा लेखिएका विषयका र केही कहाँ कसले के भन्यो भन्नेखाले प्रसङ्गले ठाउँ पाएको थियो।

हामी देख्दैनौँ गाउँघरतिरका पहुँचविहीन स्रष्टाहरूलाई। स्वाभिमानी दिलहरूलाई। चाकडीका मन्त्र जप्न नजान्ने ती कुशल पाइलाहरूलाई। तिनीहरू खासै मिडियाहरूमा पनि आउँदैनन्। मिडिया नै नभएको समयमा गाउँ गाउँ, जिल्ला जिल्ला डुलेर आफ्नो प्रतिभा देखाउने स्रष्टाहरूले धर्ती छोडिसके। तिनको समय लेखिएन। तिनको प्रतिभाका बारेमा लेखिएन। तिनका सिर्जना पनि आएनन् लिखित रुपमा। गाउँघरतिर वृद्धवृद्धाका मुखारबिन्दुबाट सुनिन्छन् तिनका केही सिर्जनाहरू।

बाजुराका रत्नाकर पण्डित घरका जहानसँगसमेत डेउडा गीतकै माध्यमबाट कुराकानी गर्दथे। असाधारण प्रतिभा भएका स्रष्टा थिए उनी। जसका बारेमा खासै लेखिएको भेटिँदैन। त्यस्तै बाजुराकै दत्तबहादुर मल्ल, चित्र विष्ट, डबल शाही, अर्जुन थापा, जसे रावल, मंगल शाही, झ्यामालगायतको बारेमा पनि लेखिएन।

डोटीका खण्टे खड्कालाई बडाहाकिम प्रतापजङ शाहले उनको प्रतिभाबाट प्रभावित भएर कदरस्वरुप चल्ले शाहीको उपाधि दिएका थिए। चल्ले शाहीको अर्थ हुन्छ डेउडा सम्राट। यसरी सरकारी तवरबाट डेउडा सम्राटको उपाधि पाउनेमा पछिल्लो समयका कालिकोटका डेउडिया नेत्रराज शाही पर्छन्। जसले पालिकाबाट डेउडा सम्राटको उपाधि पाएका छन्।

त्यस्तै एक दशकअघि धर्तीबाट बिदा लिएका बझाङका मानवल बिष्टलाई बझाङमा डेउडा सम्राट भन्ने गरिन्थ्यो। जसले आफूले धर्ती छोड्ने समयको समेत आभाष पाइसकेपछि आफ्नो लाशलाई सेती किनारमा राखी केहीबेर डेउडा खेल खेल्न अनुरोध गरेका थिए। नभन्दै उनले सोही समयमा धर्तीबाट बिदा लिए। गाउँलेहरूले उनले भनेबमोजिम नै सेती बगरकाे बीचमा लाशलाई राखेर झण्डै दुई घन्टासम्म अश्रुपूर्ण नयन लिएर उनको सम्झनामा डेउडा खेल खेले। जहाँ महिलाहरूसमेत सहभागी बने।

याे पनि... कालु सिंह ‘परियार’हरुसँगै बाँचिरहेको एउटा मीठो धुन

झण्डै आठ दशकअघि सुदूरपश्चिमेलीहरूले बम्बैमा समेत डेउडा खेल खेल्ने गरेको कुरा सुन्नमा आउँछ। जहाँ डोटीका ठगी महराले अछामकी कुनै महिलासँग सवालजवाफ गर्दाका गीतहरू केही पंक्तिहरू गाउँघरतिर सुन्नमा आउँछन्। ती प्रसङ्गहरु पनि आगामी लेखमा उल्लेख गरिने नै छन्।

डोटीकै हँस्स्वा, गगनबहादुर साउँद, देउराम बलायर, गंगाराम बलायर, बाजुराकी झीरू, डमरी, अछामका भोरलङ स्वार, देवानन्द तिमिल्सिना, नामसरी, बझाङका गोबिन्द डिठ्ठा, बाका साउँद, दलबीर सिह,गुण्टे बुढा,गजे पुजारा, हरिमल, गोपि रावल,शंकरलाल थापा, गिठू सिंह, अफिलाल सिंह, गिठे लुहार, बिर्कु कठायत, शोभान ओली, गोरे छ्यली, शेरबहादुर सिंह, धौली, कालीकोटका अनिपाल शाही, बिर्ख शाही, जस्ता थुप्रै ड्यौडियाहरूको डेउडाका हस्तीहरूको दुनियाँ अर्कै थियो। त्यतिखेरका ती ड्यौडियाहरूले भावपक्षलाई व्यञ्जना र लक्षणामा व्यक्त गर्दथे। दुई पक्षबीचको सवालजवाफको भावनात्मक लहरले सत्यता र यथार्थता समेटिएका शब्दहरूले त्यहाँ प्रयोग भएका उपमा र उपमेयहरूले हजारौँ मनको हाँसो र आँसु समेट्थे। अवर्णनीय थिए ती पंक्तिहरू, जुन हाल गाउँघरतिर मौखिक इतिहास बनेका छन्।

२००७ सालको राजनैतिक परिवर्तनसँगै रेडियो नेपालको स्थापना भयो। तर, त्यतिबेला रेडियो किन्नसक्ने सामर्थ सर्वसाधारणको थिएन। २०३६ सालसम्म रेडियो किन्नेहरूले जिल्ला विकासमा रेडियो दर्ता गरी पोता (कर) तिरी बर्सेनि नविकरण गर्नुपर्ने हुन्थ्यो। २०३६ सालको बहुदलपछि कर तिर्नेदेखि नविकरणसम्मको झण्झट दूर भयो।

२०४५ सालसम्म रेडियो नेपालको संगीत शाखामा काम गरेका प्रेमदेव गिरि विगत सम्झिन्छन्, ‘२०३६ पछाडी नै भाषाभाषिको कार्यक्रम सुरु भयो। प्रतिभा साँझ कार्यक्रम सञ्चालन भएपछि डेउडा गीतहरू विस्तार हुँदै गएका हुन्। पचासको दशकदेखि जब गीत संगीतका लागि थुप्रै निजी स्टुडियोहरू खुले अनि डेउडा गीत विस्तारको क्रम बढ्दै गयो। विगतमा रेडियोले भाषिकालाई मान्यता नदिँदा कमसेकम लय बचोस् भनेर लय डेउडाको र गीत नेपाली भाषामा प्रयोग गरिएको हो। त्यो रहर थिएन, बाध्यता थियो।’

उसो त रेडियो नेपाल स्थापना भएको झण्डै एक दशक कुर्नुपर्यो डेउडा गीत सुन्नलाई, जहाँ २०१५ सालमा डोटीका धनबहादुर मल्लले गीत रेकर्ड गरेको देखिन्छ। मल्लकै नेतृत्वमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा सुदूरपश्चिमका हरेक जिल्लाबाट बर्सेनि एकएक जना सहभागी काठमाडौँ पुग्थे। तीमध्ये कतिपयले रेडियो नेपालमा समेत गीत गाउने अवसर पाएका थिए। त्यतिबेला रेडियोमा डेउडा गीत गाउनेमा बझाङकी भगवती श्रेष्ठ, डडेल्धुराका रणबहादुर गुरुङ्ग र धनबहादुर गुरुङ्ग अछामका भोरलुङ स्वारलगायत केही गायक-गायिका थिए।

याे पनि... म पोइल कसरी बसुँ झल्का लागन्ना र...!

२०१७ सालमा रेडियो नेपालबाट गीत गुञ्जियो परिमल स्नेहीको आवाजमा। २०१६ सालमा एसएलसी पास गरेका स्नेहीले २०१७ सालमा रेडियो नेपालको लोकलहरी कार्यक्रममा तेराघर पुगेँ पहाणी बाबु बोलको भदौरे गीत गाएको कुरा चिनारी पत्रिका सम्पादक एन. के. जोशीले परिमल स्नेहीसँग लिएको अन्तर्वार्ता र स्नेहीका सुपुत्र सत्यराज स्नेहीसँगको कुराकानीबाट थाहा पाउन सकिन्छ। त्यसै वर्ष उनले ‘उदै देश मेरै माइत जानु भमरा बुबाका दाहिने कुम बस्नु भमरा’ बोलको गीत रेकर्डिङ गरेका थिए।

चिनारी, २०६७ अङ्क ३, मा छापिएको स्नेहीको अन्तर्वार्ताका अनुसार उनका ६८ वटा गीतहरू रेडियो नेपालबाट र चारतारे क्लब, राष्ट्रिय नाचघर, म्यूजिक नेपाल, रत्न रेकर्डिङ आदिबाट ६२ गरी जम्मा १३० गीत रेकर्डिङ भएका छन् भन्ने कुरा थाहा पाउन सकिन्छ। उनले गाएका गीतहरूमध्ये ‘चरिमार्यो भृकुटी बर्माले कमाई खान्छु आफ्नै कर्मले..., लेक भैसा घर पैसा छोट्टी छोरेट्टाका देखि ओहो सारसुवा ओहो सार सुवा ओ हो सारसुवा किरमडी काफल ल्याउला सुवा’ जस्ता केही गीत निकै नै चर्चित छन्।

यसरी डेउडा रेकर्डिङको दुनियामा त्यसपछि २०२० सालमा जुम्ला चौभान बोलको गीत गाएर देखापर्छन् जुम्लाका महाशङ्कर देवकोटा। जसका ९२ वटा गीत रेकर्ड भएका देखिन्छन्। डेउडा गीतको कुरा गर्दा मध्यपश्चिमलाई छुटाउँदा अन्याय गरेको हुन जान्छ। यतिखेर यो सानो लेखमा सबैकुरा समेट्न सजिलो कर्म पक्कै छैन। यद्यपि महाशंकरको योगदान पनि उत्तिकै स्तुत्य छ। त्यस्तै रचनाकार, वरिष्ठ मादलवादक प्रेमदेव गिरीले पूर्वका गायक-गायिकालाई डेउडा गीतमा स्वर दिन निकै नै अनुरोध गरे। अन्ततः ती गीतहरू रेकर्ड मात्र भएनन्, चर्चित पनि भए। रेडियोबाट बारम्बार बज्न थाले।

जसमध्येका ‘छ्याम्म छ्याम्म कतिका उकाला लागे छ्याम्म छ्याम्म...’ बोलको चर्चित गीत २०३२ सालमा कविता आले गणेश रसिक, उर्मिला श्रेष्ठको स्वरमा रेकर्डिङ भएको थियो। प्रेमदेव गिरिकै संकलनका अन्य चर्चित गीतहरू हुन्, ‘राता काला ऊनका डोरी चिर्पा दाउरा बाल्पा आगो भोटेका पालभरी गलबन्दीमा रातो धागो ( गणेश रसिक, कुमार बस्नेत २०३५) क्याट्ट किर्किटिका ट्याम्मै...बउजु लर्की लरक्क घन्काउ मादलु (राम थापा, कुमार बस्नेत २०३५) साइलाई सम्झी रुन्थेँ म कत्तिको .....(बस्नेत/तारा थापा, २०३६)।’ यसरी ०३१ देखि ०४५ सालसम्म उनका संकलनका गीत गाउनेहरूको नाम लिनु पर्दा लामै सूची तयार हुन जान्छ।

त्यस्तै २०२८ सालमा बैतडीका गणेश ठकुराठीले स्वर परीक्षा पास गरेर ‘बस मायालु बस’ बोलको गीत रेकर्ड गराए। त्यस्तै २०३१ सालमा अछामका प्रेम कुवरले ‘ओ बाज झुम्र्यौली बाज’ बोलको गीत रेकर्ड गरेका थिए। त्यसपछि‘ओ बाज झुम्र्यौली बाज’ बोलको गीत लिएर देखा पर्दछन् बैतडीका जुंगे भट्टराई।

याे पनि... रम्यता लिम्बुकाे रुचि, साहस र राेजाइ

२०३२ सालमा माइकल चन्दले रेडियो नेपालमा गीत गाउने माहोल बनाइदिएपछि आफूले गीत गाएको कुरा यो पंक्तिकारसँग बताएका थिए बैतडीका जुँगे भट्टराईले। उनले ती गीतहरू टेप नं. ७२३ र ७३६ मा भएको कुरासमेत सम्झेका थिए। त्यहाँ उनले चार वटा गीत रेकर्ड गराए।

डेउडा गीत सुनिसकेपछि मौलिकताको सिलसिलामा ट्युनिङ गर्नुपर्छ, मौलिकता हराउन दिनुहुन्न भनेर नातीकाजीले अरु संगीतकारलाई भनेको कुरा सम्झिँदै बताएका थिए, ‘रहर हुँदाहुँदै पनि सकिनँ रेडियोमा अरु गीत रेकर्ड गराउन। त्यतिबेला रेडियोमा गाउनुभन्दा पहिले शब्द देखाउनु पर्थ्याे। सेन्सर बोर्डबाट पास भएपछि बल्ल गीत गाउन पाइन्थ्यो। कनिकुथि बाह्रखरी लेख्न सक्ने आफूलाई डोटेली भाषाका शब्दहरू नेपालीमा उल्था गरी पेश गर्नु पर्दा असजिलो महशुस भएर छोडिदिएँ रेडियो जान।’

त्यस्तै पिलिवितको रामा इन्टर कलेजमा लेक्चर हुँदाकै समय (२०३४आषाढ १० गते) डडेल्धुराका श्रीधर पन्तले हिरालाल बौराना पकमबम बोलको गीत रेडियो नेपालमा रेकर्ड गराएको देखिन्छ। ‘हेरदन्त...मेरिनन्द’ बोलको गीतलगायत रेडियो नेपालमा उनका ४ वटा गीत रेडियोमै रेकर्ड भएका थिए।

तत्पश्चात् चालिसको दशकको सुरुवातीमै देखापरे बझाङका नन्दकृष्ण जोशीलगायतका केही गायकहरु। मध्य तथा सुदूरपश्चिममा गायक नन्दकृष्ण जोशीका एल्बम बज्न थाले। क्रमैसँग बजारमा थुप्रै गायकका एल्बम छ्यापछ्याप्ती आउन थाले।

५० को दशकमा आइपुग्दासम्म थुप्रै गायक-गायिकाहरु देखापरिसकेका थिए। २५ देखि ६० का बीचमा त एल्बम निकाल्नेको होडबाजी नै चलेको थियो। उक्त समयमा थुप्रै स्रष्टाका दर्जनौँ गीतहरु रेकर्ड भएका देखिन्छन्। जुन डेउडा गीत रेकर्डिङको स्वर्णीम समय पनि थियो। यज्ञराज उपाध्यायको राइझुमा नरेन्द्रराज रेग्मीको ढुकुरान्चडी, भोजराज भट्टको ‘बम्बै जाने रेलगाडीका पैया गुडन लागे, टेकराज अवस्थीको ऐसेलु किरमडी झुल, अन्तराम बिष्टको घोप्टे जुँघा, कमलासिंह मुस्कानको बग्ने चौलानी, भुवन दाहालको साइका जन्तीभोज’ बोलका गीतले निकै चर्चा पाए।

त्यस्तै ठाडी भाकामा श्रोतालाई अश्रुपूर्ण बनाउन सक्ने सामर्थ्य बोकेका गायक-गायिका रुपमा देखापरे भोजराज भट्ट, हरिशचन्द्र खडायत, भुवन दाहाल हरिना साउँद, डिक्रदेवी, संगीता शाह, पवित्रा भण्डारी र प्रकाश थापा आदि। उता कर्णालीका भाका पस्किएर श्रोताको मन जितिरहे मोतिराज बम, कर्णबहादुर रोकाया, कृष्णप्रसाद देवकोटा, खडानन्द चौलागाई, शिवचन्द्र खत्री, कविराज कार्कीलगायतका गायक-गायिकाहरू। साठीको दशकदेखि हालसम्मका अन्य थुप्रै र चर्चित गायक-गायिकाहरू छन्, जो पछिल्लो लेखमा समेटिने नै छन्।

याे पनि... त्यो गीत, जसले नरेन्द्रको ‘मास्टरी’ खोसेर गायक बनायो

डेउडा गीतको कुरा गर्दा यसलाई माया गरेर स्वर दिने पूर्वका गायिकाको योगदानलाई हामीले भुल्नु हुँदैन। त्यतिबेला थुप्रै गीतमा आफ्नो सुरिलो स्वर पस्केकी छन् लोचन भट्टराईले। त्यस्तै कविता आले, उर्मिला श्रेष्ठ, इन्दिरा गुरुङ, सर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, विष्णु माझीलगायत थुप्रैको योगदान रहेको छ।

डेउडालाई माया गरी प्रमोसन गर्ने संगीतकार हुन् नारायण रायमाझी। रेडियो नेपालपछि एफएम रेडियोमा डोट्याली भाषामै कार्यक्रम सञ्चालन गरी पहिलोपटक रेडियो एचबिसीबाट डेउडा गीत बजाउने सञ्चारकर्मी हुन् कृष्ण मल्ल। यसरी डेउडा गीत आजका दिनसम्म आइपुग्नुमा विगतका गायक-गायिकादेखि पछिल्लो समयका चर्चित गीतसर्जक राजेन्द्र शाह विपी र एरेन्जरद्वय विनोद बाजुरेली तथा भुवन प्रकाश बडुलगायत थुप्रैको योगदान रहेको छ। उल्लेख गर्नुपर्ने थुप्रै कुराहरू छन्। सम्झिनुपर्ने थुप्रै नामहरू छन्, ती सबै अर्को लेखलाई साचेँ।

यतिखेर चालिसको दशक अघिकै कुरा गरौँ। कर्णालीमा पुल बनेको थिएन। भारतको बाटो भएर पुग्नुपर्थ्याे काठमाडौँ। त्यो त्यही काठमाडौँ हो, जसलाई मध्यपश्चिमबासीले नेपाल भनेर चिन्थे भने सुदूरपश्चिमेलीहरू नैपाल भन्ने गर्थे। गाउँघरतिर गीत गाउने काम गन्धर्वहरूको भन्ने गरिन्थ्यो। गीतबाट कमाइ हुने त कुरै थिएन। आफ्नो कला र गला पस्किन खोज्दा पनि हेयका दृष्टिले हेरिन्थ्यो। तर, गाउँघरतिर विभिन्न अवसरमा रातभर, दिनभर खेलिने ठुलठुला डेउडा खेलहरू भने डेउडियाहरूका शिरमा पगडी बाँधेर सम्मान गरिन्थ्यो। जित-हारको कुरा हुन्थ्यो। जित्ने समूहलाई स्याबासी स्वरुप खसीबोका दिने प्रचलनसमेत थियो।

हिजोआज हरेकपल्ट दिमागमा हलचल पैदा गर्छ एउटै शब्दले- किन भएन डेउडा गीतको इतिहासको गहन अध्ययन, हामी कता रुमल्लियौँ? सामाजिक परिवर्तनको समेत मियो बनेको डेउडा गीतको ओज कति छ? चिनाउन किन सकेनौँ हामीले? डउडा गीतका माध्यमबाट समाजमा हुन गएको परिवर्तनका बारेमा किन बसह हुन सकेन?

यतिखेर सम्झनामा आउँछन् भक्तबहादुर बलायरको बेलु गीतिकाव्यभित्रका यी पंक्ति: ‘मेरा बाले मलाई बेच्यो भैंसी बेच्याजन, आज घर अँनारो होला म नहुदा पन। त्यस्तै कुनै महिला गायिकाले नबोलाइकन आएछौ त’ भनी हेपुवा पाराले पुरुष डेउडियालाई प्रश्न गर्दा उनले दिएको उत्तर:

कति खाएका हुन् कति भोकै यै जाँतका पाहुना

बत्तीलाई सल्काउनु पर्दो सूर्य आफैं आउना

विगतका डेउडा गीत सुन्दा एउटै पंत्तिले हल्लाइदिन्छ मन मस्तिष्क। ती डेउडियाहरूको आगमन र बिदाई बडो सभ्य र शालिन ढंगले भएको देखिन्छ। त्यो क्षेत्र एउटा सुन्दर उपवन हो र छ पनि। प्राकृतिक संस्कृतिक र आध्यात्मिक हरेक कोणबाट हेर्दा यसको छुट्टै महिमा छ। छुट्टै गौरव छ। तर पछिल्लो समय किसिम किसिमका मानसिक रोगीहरू भेटिन्छन् यो धरातलमा। सम्झन्छु कविशिरोमणी लेखनाथ पौड्यालको कविता ‘मखाउँ मै लाउँ सुख शयल वा मोज म गरुँ... मबाट सुरु हुन्छ कथा र ममा गएर अन्त हुन्छ।’

नेताका सुरुवालका इजार बाँधिदिने औँलाहरू कुसल र सफल ठान्नेहरू पनि छन् यहाँ। तेल मालिस गरेर सिढी उक्लेकाहरू पनि छन् विभिन्न क्षेत्रमा। अवसरको खोजी गर्नु एउटा पाटो हो। अवसरका लागि तल्लो स्तरमा झर्नु अर्को पाटो। अरुले उहाँ भनिदिनु एउटा पाटो। आत्मश्लाघी बनेर आफैले आफूलाई महान घोषण गर्नु अर्को पाटो।

टपरटुङ्याहरूको बिगबिगी छ पछिल्लो समय। असली स्रष्टा र विद्वानहरू गम्भीर भएर आ-आफ्नो क्षेत्रमा कर्म गरिरहेका छन्। यसरी कर्म गर्ने क्रममा उमेरअनुसारको अनुभव, ज्ञान, विवेक नयाँ पिँढीलाई बाँढ्न सक्नु, नयाँलाई प्रोत्साहित गर्न सक्नु र नयाँका लागि पथ प्रदर्शक बनिदिनु पुरानाको कर्तव्य हुन आउँछ। नयाँ पुस्ताका साथै पुराना पुस्ताकै पनि अरु स्रष्टाहरूको प्रतिभाको सम्मान गर्न नजान्नेहरू दरिद्र मानसिकताका उपज हुन्। तिनले आफ्नै जिन्दगीलाई पनि माया गर्न जान्दछन् भन्नेमा शंका उत्पन्न भइदिन्छ। मपाइत्व र शक्तिको आडले नै सबै परिवेशमा ठुलो बन्न सक्दैन मान्छे।

अर्को कुरा छ लोकप्रियताको। संगीत, साहित्य र कलाका क्षेत्रमा हेर्ने हो भने कोही लोकप्रिय हुँदैमा अरु श्रष्टा अलोकप्रिय बन्ने भन्ने कुरा बिलकुल हुँदैन। मात्र चिनिने क्रम कम बेसी हुन्छ। तथापि योगदान सबैको रहन्छ नै। संस्कति, सभ्यता र माटोप्रतिको माया अनि सम्मान कम बेसी हुन्छ जस्तो लाग्दै। त्यसैले इतिहास सबैको लेखिनुपर्छ। अझै भन्नु पर्दा न्यायसङ्गत ढंगले लेखिनुपर्छ।

सधैं झुटको खेती गरेर मपाइत्व झल्काएकै आधारमा मूल्याङ्कन नहुन सक्छ। समाजले कामको मूल्याङ्कन गर्छ। चरित्रको मूल्याङ्कन गर्छ अनि मानवीयता, संवेदनशीलता र सहयोगी भावनाको मूल्याङ्कन गर्दछ। राजनीतिलाई भर्याङ बनाएर सेलिब्रिटी हुनेहरू स्वार्थ र चाकडीका अस्तिपञ्जरहरू हुन्। समाजका ऐजेरु हुन्। ती वल्लो रुखबाट सजिलैसँग जेलिन पुग्छन् पल्लो रुखमा। सदैव फिजाइरहन्छन् आफ्नै स्वार्थको जाल।

याे पनि... ‘ठुल्कान्छा’को बाँसुरी धुन (भिडियो)

संसारका कयौं प्रतिभाहरूले ठुल्ठुला पुरस्कारहरू लत्याएर हिँडेका उदाहरणहरू छन्। हाम्रा प्रतिभाहरूले पुरस्कार र सम्मानका लागि बिन्तीपत्र बिसाएका उदाहरण पनि नभेटिएका हैनन्। नेताद्वारा फोन गर्न लगाएका खबरहरू सुनिन्छन् बेलाबखत। तिनले बायोडाटा पेश गरिरहन्छन् विभिन्न संघसंस्था र कर्पोरेट हाउसहरूमा। व्यापारीहरू त आफ्नो व्यापारका लागि छान्ने नै भए मिडियामा देखिएका अनुहारलाई, फूर्तिफार्ति गर्नसक्ने मनहरूलाई र दैलादैलामा पुग्ने पाइलाहरूलाई। तर यहाँ प्रश्न पैदा हुन्छ, के बजारमा विकेका सबै प्रतिभाहरू स्वाभिमानी छन्? भीडले छुट्टयाउन सक्दैन् असल र खराब। भीडले देख्न सक्दैन भित्री पाटो पनि। विवेकहीन भीडले बनाएका सेलिब्रिटीहरू कहाँसम्म पुग्छन्, कस्तो छाप छोडेर जान्छन् अत्तोपत्तो केही हुँदैन।

यति हुँदाहुँदै पनि सबै सेलिब्रिटीहरू सस्ताखाले आत्मश्लाघी हुँदैनन् र छैनन् पनि। आफ्नो इमानधर्म, नैतिकता र स्वाभिमानका पाटाहरूलाई सुन्दर तरिकाले सजाइरहनेहरू पनि नभएका हैनन्। तिनीहरूको संख्या निकै नै न्यून देखिन्छ। समय बलवान छ। समयले छुट्याउने छ भोलिका दिनमा कसको योगदान के? कसको संघर्ष कति? अनि कसले कसलाई सिँढी बनाएर चढ्यो धुरीमा? गरिमामय इतिहास उनैको लेखिन्छ, जो आफ्नो पौरख, क्षमता, स्वाभिमान र गरिमामा बाँचिरहेका हुन्छन्। गरिमा सिर्जनाको मात्रै नभएर स्रष्टाले बोक्ने सोच, भावना, उदारता र स्वाभिमानको पनि हुनुपर्छ।

हिजोका दिनमा केही गायकहरूले अरुका रचना ल्याएर संकलकमा आफ्नै नाम राखेका उदाहरणहरू पनि प्रशस्तै भेटिन्छन्। पछिल्लो समयमा रचना वा संकलकमाथि न्याय नगरी धरै छैन।  हाम्रा गीति एल्बममा प्रकाशित भएको मिति उल्लेख गर्ने चलन नभएको हुँदा पछिल्लो समय जसले जुन मिति फलाकी दिँदा नि भैहाल्यो। अध्येता अनुसन्धाताहरूले त्यो पनि पत्ता लगाएरै छोड्ने छन्। समय बलवान छ।

गीतहरू मनोरञ्जनका साधन पक्कै हुन्, यसका साथसाथै समय सापेक्ष समाज परिवर्तनका बाहक पनि बन्नु पदर्छ। र मौलिकता जोगाउने ढंगले समयको मागअनुसार बान्कीमा केही परिवर्तन आउनुलाई स्वभाविक पनि मान्नुपर्ने हुन्छ। पुरानै ढर्रामा सबै कुरा चल्नेवाला छैन। जुन हाम्रो बसमा पनि छैन। फरक यत्ति हो, समयअनुसार परिवर्तन हुने क्रममा सामान्य गोडमेल मात्र गरिँदै छ या गरा नै रित्याउन खोजिँदैछ। अन्तमा कतै सुनेका गीतका दुई पंक्ति सम्झिँदै आजलाई बिट मार्छु। अस्तु।

ढुङ्गा माथि पानी पड्यो रुझ्दो छ भिज्दो नाई

बैगुनीसित कुरा गर्यो सुन्दो छ बुझ्दो नाई ।।

*शँकर तिखातरी**

पुर्व मेची पश्चिम काली हिमाल पहाड तराई।

नबिर्सेइ गुराँसी फुल मछु देश पराइ।।

उधारणालाई केही देउडा गीत

सम्पादन
डोटीकी देउजात राम्री, बन्नाकी चैतली|
भनिदेउ मनका कुरा, मिलाइदेउ पैतली॥
भाईटीका फूलको माला, दशैकी जमरा|
देउडा खेल्न आया साथी, भदौकि गमरा॥
कोई खाना खानै नपाउँदा कोई खानाछन् झर ।
कोई भने महलका धनी कैकाई छैनन् घर ।।
कोई खाना बास्मती चामल कसैकी कोदे नाई ।
कोई लाउँदा कम्पनी माल कसैकी पोते नाई ।।
कसैका ज्युनारी बासी कसैका पेट भोका ।
किन बनाई प्रमेश्वर यस्तो लेखा जोखा ।।
यै जिवनको साथी भैगो डोको र बरियो ।
दुर्गम ठाउँमा जन्म भयो हेलाकै परियो ।।
बाल्न्या सबै ल्याउने कोई नाई वन्का दाउरा वनै ।
सुन्ने सबै बुझ्ने कोई नाई मनका दुःख मनै ।।
आई जोवन बाइजान लाग्यो नभै हराभरा ।
दुःखीले वास पाउने छैन सुखी बस्ने दरा ।।
जेठाजु भैंसीका खर्क जेठानी छुई छन्की ।
एक दुःखीका एक सुखीका भगवान दुई छन्की ।।
आदी सर्ग मालुकाग त्यहीं माथीका चिल ।
भावीले भाग हाल्ने बेला बसे हुँ की डिल ।।
दुःख लेखी निधारमा दैव मेरा लागी ।
होरो हाल्ने भावीनीको लेख्ने कलम भागी ।।
बम्बैका सेटले लैगो छोरी रानाजीकी ।
हातले बिगारे हुँ कि कर्म यसै छिकी ।।
हात पुग्दैन हँगौचे नाई पगारमी भेरो ।
कलम खोटी भावीनीको कर्म खोटी मेरो ।।
घाम लाग्यो पाइलका डाँडा कुहिरो लाग्यो डोटी ।
म परें कर्मका भर कर्म रैछै खोटी ।।
खान्छकी जुम्लीको जाड्या हात छैन लठ्ठी ।
न पर्नु कर्मका भर कर्म हुन्छ खट्ठी ।।

देउडा कलाकारका नाउ

सम्पादन


सन्दर्भ सामग्रीअन

सम्पादन
  1. डेउडा प्रमुख क्षेत्रहरू
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; deuda नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन


बाह्य कडीअन

सम्पादन

यिनलाइ लै हेर

सम्पादन